विदेशबाट ल्याएको मोबाइलमा नेपालको सिमकार्ड चल्ने कसरी बनाउने ?थाहा पाईराखौ

काठमाडौं, जेठ १३ – व्यक्तिमार्फत विदेशबाट ल्याईएका मोबाइल नेपालको सिमकार्ड राख्ने बित्तिकै चल्दैन । किन होला ? किनकी विदेशबाट ल्याईएका मोबाइल फोनको आइएमइआई नम्बर नेपाल दुरसञ्चार प्राधिकरणको डाटाबेसमा नभएकाले हो ।
आइएमइआई इन्टरनेशनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिटीको छोटकरी रुप हो । प्राधिकरणले आफ्नो डाटाबेसमा नभएका आइएमआई नम्बर अंकित मोबाइल नचल्ने बनाएको छ । तर वैशाख १ गते अघि भने यस्तोे थिएन । नयाँ वर्ष लागेसँगै मोबाइलको प्रयोग तथा विक्री वितरणलाई थप व्यवस्थित तथा नियमित गर्न प्राधिकरणले मोबाइलको पहिचान हुने नम्बर अनिवार्य रुपमा दर्ता गनुर््पर्ने बाध्यकारी नियम ल्याएको छ ।
‘नयाँ नियमअनुसार हरेक मोबाइलको आइएमइआई नम्बर हुन्छन् र यसलाई युनिक नम्बरको रुपमा लिईन्छ ।’ प्राधिकरणका सहप्रवक्ता अचितानन्द मिश्रले भन्नुभयो ‘यो अनिवार्य दर्ता गर्नुपर्छ ।’
व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइने मोबाइलको आइएमइआइ, इएसएन, एमइआइडी नम्बर दर्ता गर्नु पर्ने नियम प्राधिकरणले नयाँ निर्देशिका ल्याएर लागु गरेको हो ।
कसरी चल्छ त ?
विदेशबाट भित्रिएको मोबाइलमा नेपालको सिम कार्ड राख्ने बित्तिकै नेटवर्क अपरेटरले मोबाइलको युनिक नम्बरलाई प्राधिकरणको डाटावेशमा रजिष्टार भएको छ कि छैन भनी सफ्टवेयरमार्फत खोज्न थाल्छ । त्यसकारण डाटावेशमा दर्ता नभएका कारण नेटवर्क अपरेटरले खोज्दा पाईदैन र मोबाइलमा सिम कार्ड राख्दा चल्दैन ।
चल्ने बनाउन के गर्ने त ?
मोबाइल प्रयोगकर्ताले प्राधिकरणमा आफ्नो आइएमआई नम्बर दर्ता गराई त्यस्ता मोबाइल चलाउन सक्छन् । दर्ता नभएसम्म मोबाइल चल्दैन । त्यसैले अनिवार्य रुपमा प्राधिकरणमा मोबाइल दर्ता गर्नुपर्दछ ।
नेपालमा मोबाइल बिक्री गर्ने आधिकारिक कम्पनीबाट मोबाइल किन्दा कम्पनी आफैले मोबाइलको युनिक नम्बर दर्ता गरिदिन्छ । विदेशबाट व्यक्तिगत रुपमा मगाएको वा ल्याएको मोबाइलको आइएमआई नम्बर भने प्राधिकरणमा दर्ता गर्नुपर्छ ।
वैशाख १ गते भन्दा अगाडि ल्याएका मोबाइल फोनलाई भने नेटवर्क अपरेटरले आफै रजिस्टर गरिसकेका छन् । आइएमइआई नम्बर नभएका, डुब्लिकेशन भएका मोबाइललाई दर्ताका लागि असोज मसान्तसम्मको म्याद दिइएको छ ।
विदेशबाट ल्याएका मोबाइल प्रयोगकर्तालाई आइएमआई नम्बर दर्ता गर्न प्राधिकरणले एसएमएस सन्देश पनि पठाइसकेको प्राधिकरणका सहप्रवक्ता मिश्रले बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले तोकेको फारममा विवरणहरु भरेर प्राधिकरणको कार्यालय कमलादीमा गएर वा (eir@nta.gov.np ) मा इमेलमार्फत पठाएर पनि दर्ता गर्न सकिन्छ । आइएमइआई नम्बर पत्ता लगाउन मोबाइलमा *#06# पुग्छ ।
अनलाइनबाट दर्ता गर्ने तयारी
प्राधिकरणले मोबाइल प्रयोगकर्तालाई सजिलो होस भनेर अनलाइनबाट पनि दर्ता गर्न सकिने व्यवस्था मिलाउँदै छ । विवरण भर्न सहज बनाउन यस्तो तयारी गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दर्ता गर्न असोजसम्मको समय तोकिएको छ भने दर्ताका लागि आफ्नो वेबसाइटमा फर्म राख्ने बाहेक अर्काे शाखा खोलिएको छैन ।
तर पनि दर्ता गर्न इमेल र प्राधिकरणमै आएर विवरण भर्ने काम चलिरहेको छ । असोजपछि अनलाइन दर्ता हुने र २०७४ वैशाखबाट आनलाइनबाटै अटो अपडेट गर्ने तयारी गरेको प्राधिकरणले जनाएको छ ।
कति मोबाइल दर्ता भयो ?
प्राधिकरणका अनुसार मोबाइलका आधिकारिक बिक्रेता कम्पनीहरुमार्फत एक महिनामा ५ लाख मोबाइल दर्ता भएका छन् भने व्यक्तिमार्फत ३ हजार मोबाइल दर्ता भएको प्राधिकरणले जनाएको छ ।
राजश्व चुहावट कम हुने
यस नियमका कारण मोबाइल दर्ता हुन आउँदा विभिन्न तरिकाले नेपाल भित्रिने मोबाइलमार्फत राज्यले राजश्व प्राप्त गर्ने प्राधिकरणले दाबी गरेको छ । बजारमा गैरकानूनी तथा ग्रे मार्केटबाट मोबाइल भित्रिएका कारण मुलुकले राजश्व गुमाईरहेको सरकारले पनि निष्कर्ष निकालेको थियो ।
राजश्व छली नियन्त्रणका साथै मोबाइल चोरी, हराएमा, नक्कली मोबाइलको प्रयोग, अपराधिक क्रियाकलाप जस्ता गतिविधिलाई पनि यसले कम गराउन सकिने प्राधिकरणका सहप्रवक्ता मिश्रले बताउनुभयो ।
