नयाँ शक्तिका संयोजक बाबुरामकी पुत्री मानुषीले आज तनहुँका जेकेन्द्रसँग लगन गाँठो कस्दै

काठमाडौं, २९ माघ - नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र हिसिला यमीका एकमात्र पुत्री मानुषी यमी भट्टराईले आज शनिबार बिहे गर्दैछिन्। 

एमाओवादी अखिलमा क्रियाशील हुँदा सँगै काम गरेका तनहुँ रिसिङका जेकेन्द्र श्रेष्ठसित उनले अन्तरजातीय बिहे गर्न लागेकी हुन्। दुई परिवारका सदस्यसहित नजिकका साथीहरुको उपस्थितिमा मानुषीको बिहे सानेपास्थित भट्टराई निवासमा हुने छ।
 
मानुषी र श्रेष्ठ एमाओवादी अखिल सचिवालय सदस्य थिए। मानुषी त्रिभुवन विश्वविद्यालय स्ववियू सचिव हुँदा श्रेष्ठको कार्यक्षेत्र पनि त्रिभुवन विश्वविद्यालयमै थियो। उनीहरु सँगै काम गर्दा एकअर्काप्रति आकर्षित भएका थिए।
  
शनिबार माओवादी जनयुद्धको बर्षगाठ पनि परेको छ। यसलाई मानुषीले ’संयोग’ भनेकी छन्। मानुषीपितासहित नेतृत्वको माओवादीले २०५२ फागुन १ गते नेपालमा जनयुद्धको औपचारिक घोषणा गरेको थियो।
 
’उता (जवारलाल नेहरु विश्वविद्यालय, दिल्ली) बिदा भएको बेला यता (नेपाल) आएकी थिएँ। सार्वजनिक विदाको दिन खोजेको हो, बर्षगाँठको दिन संयोग मात्र परेको हो,’ उनले भनिन्। मानुषी उनका पिता पढेको जवाहरलाल नेहरु विश्वविद्यालयबाट एमफील पुरा गरेकी छन्।
 
जेकेन्द्र भट्टारार्ई नेतृत्वको नयाँ शक्तिमा क्रियाशील छन्।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.