चोरी गरेरै ललितपुरमा घर ?

काठमाडौं, माघ १८
धनी र विदेशीका घर टार्गेटमा
खड्का समूहले धनी र विदेशीको घर छान्दै चोर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले लामो समयदेखि चोरी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए । सहयोगी कुमार भन्ने रघुनाथ बस्नेतसहित खड्कालाई महानगरीय प्रहरी परिसर ललितपुरले शनिबार पक्राउ गरेको छ भने अरू फरार छन् ।
दर्जनौँ घरमा चोरी
पछिल्लोपटक खड्का समूहले सानेपास्थित डा. सन्तोष शाक्यको घरबाट १० लाख ८० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको थियो । सोही घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको दर्जनौँ चोरी खुलेको हो । ६ वटा ठूला चोरी खुलिसकेको र थप अनुसन्धान जारी रहेको डिएसपी दयानिधि ज्ञवालीले बताए ।
०६५ देखि निरन्तर चोरी
उनीहरूले ०६५ देखि चोरी गर्दै आएको प्रहरीले जनाएको छ । १५ मंसिर ०७१ मा झम्सीखेलस्थित रमा केसीको घरबाट पाँच लाख ८६ हजार, एकान्तकुना बस्ने विदेशी नागरिक एमोस स्टोल्जफसको डेराबाट २२ वैशाख ०६६ मा दुई लाख ८० हजार र ३ साउन ०६६ मा दुई लाख ५८ हजारबराबरको धनमाल, २० चैत ०६५ मा सानेपामा विदेशी नागरिक माइबल बेस्टनको घरबाट एक लाख ९१ हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।
खड्का जाँदैनथे, तर धेरै रकम राख्थे
प्रहरीका अनुसार मुख्य नाइके खड्का आफैँ चोर्न जाँदैनथे । ‘उनी धनीहरूको घर पहिचान गरी योजना बनाएर सहयोगीलाई चोर्न पठाउँथे,’ डिएसपी ज्ञवाली भन्छन्, ‘चोरी गरेर ल्याएको सामान आफैँले बिक्री गरी चोरी गर्नेलाई थोरै दिएर धेरै आफूले राख्ने गरेको खुलेको छ ।’ पछिल्लोपटक डा. शाक्यको घरबाट चोरी भएको सुनको गहना र आइफोन  खड्काबाटै बरामद भएको प्रहरीको भनाइ छ ।
खड्काको घर छानबिन हुने
रामेछाप बेथान घर भएका मुख्य नाइके खड्काको ललितपुरको टीकाथलीमा भव्य घर छ । आपराधिक गतिविधिबाटै कमाएको पैसाले उनको घर किनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खड्काको सो घरको पनि छानबिन हुनेछ ।source:nayapatrica

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.