यस्तो रहेछ उत्तर कोरियालीको कहालीलाग्दो जीवनशैली

सोल : उत्तर कोरिया विश्वकै सबैभन्दा गोप्य मुलुक हो । सर्वोच्च कमान्डर किम जोङ उन र त्यहाँ हुने गरेका सामान्य गतिविधिदेखि लिएर उत्पादन गर्दै आएको आणविक हतियारको बारेमा समेत विश्व बेखबर हुन्छ ।

त्यहाँका जनताको जीवन दयनीय छ । उनीहरूले भनेको बेला खान, लगाउन समेत पाउँदैनन् । महिलाको अवस्था त निकै अत्यासलाग्दो छ । सर्वोच्च कमान्डर उनले आफुलाई प्रतिकूल हुने जनताको सबै अधिकारमा रोक लगाएका छन् ।

त्यहाँका जनतालाइ स्वतन्त्ररूपले बोल्ने अधिकार छैन । सूचना प्रविधिले धेरै फड्को मार्दा समेत त्यहाँ हुने गतिविधि सार्वजनिक हुँदैनन् । सूचना प्रविधि, रेडियो, फिल्म, विदेशी टेलिभिजनका कार्यक्रमबाट त्यहाँका जनतालाई टाढै राखिएको छ । मानवअधिकारको चरम हनन भएको छ । कुनै पनि मुलुकका व्यक्ति सजिलैसँग उत्तर कोरिया जान पाउँदैनन् । त्यहाँ जान झन्झटिला प्रक्रिया पार गर्नुपर्छ । यहाँ सार्वजनिक रूपमा सामूहिक मृत्युदण्ड दिने गरिन्छ ।

 सर्वसाधारणले लगाउने कपडा र कपाल पाल्ने शैली पनि सरकारले तोकिदिएको हुन्छ । अहिले आणविक हतियार उत्पादन, मानवअधिकार लगायत उत्तर कोरियामा हुने गतिविधि अधिकांश राष्ट्रलाई टाउको दुखाइ बनेको छ । उनलाई त्यहाँका जनताले भगवानझैं मान्ने गरेका छन् । पाठ्यक्रममा शासकको प्रशंसाबाहेक केही हुन्न । बालबालिकालाई राष्ट्रपतिभन्दा असल व्यक्ति कोही नभएको भन्दै शिक्षकले पढाउने गर्दछन् । सञ्चारमाध्यमले पनि शासकको प्रशंसाबाहेक अरू समाचार बनाउन सक्दैनन् ।

गाउँ गाउँमा भोकमरी छ । बालबालिका सडकमा लडिरहेका हुन्छन् । उत्तर कोरियाका बालबालिकाको अवस्था अत्यन्तै नाजुक छ । उनीहरू स्कुल जान पाउँदैनन्, सडकमा माग्न बसिरहेका हुन्छन् । फोहोरमा फालिएका खानेकुरा खान्छन् । युवतीहरू चीनमा आएर वेश्यावृत्ति गर्न बाध्य छन् ।कुनै पनि विषयमा विकल्प भन्ने हुँदैन ।

शासकका नजिक र नातेदार बाहेकका अधिकांश जनता मुलुक छाड्न चाहन्छन् । निरंकुश एवं कठोर शासन व्यवस्थाकाका कारण उनीहरू बाहिर जान पाउँदैनन् । चीनसँग जोडिएको सीमाक्षेत्रबाट कतिपय उत्तरकोरियाली चीन प्रवेश गर्ने गरेका छन् । त्यसरी प्रवेश गर्नेलाई चीन सरकारले भेटाए उतै फर्काइदिन्छ । त्यसपछि उनीहरूले कठोर यातना भोग्छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा हालै जम्मा भएका अन्तर्राष्ट्रिय पत्रकारहरूसँगको भेटघाटमा क्रममा उत्तर कोरियाली डिफेक्टरहरूले (उत्तर कोरियाबाट भागेर दक्षिण पुगेका व्यक्ति)त्यहाँको मानवअधिकारको पछिल्लो अवस्था खुलासा गरेका हुन् ।सोलमा बस्दै आएका उत्तर कोरियाका निर्वासित व्यक्तिले त्यहाँका जनताको मानवअधिकारका लागि लडिदिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

शासकले दमन र शोषण गरेको भन्दै उत्तर कोरियाली जनताको अधिकारका लागि विश्व एकमत हुनुपर्नेमा उनीहरूको जोड थियो । पाँच वर्षअघि चिनिया नाका हुँदै सोल पुगेका किम हुवेङ सोले उत्तरका जनता चरम शोषणमा परेकाले त्यसको मुक्तिका लागि अन्तर्राष्ट्रिय समुदायले प्रयास गर्नुपर्ने बताए ।

उनले ८० प्रतिशत जनता देश छोडन तयार भए पनि कडा शासन व्यवस्थाका कारण तत्काल त्यो सम्भव नरहेको बताए । सन् २००८ को नोभेम्बरमा एक महिलासहित ५ जना निर्दोषलाई सामूहिक मृत्युदण्ड दिए पछि सोले देश छाडने निर्णय गरेका थिए । सोले अन्नपूर्णसँग भने, ‘सामूहिक मृत्युदण्ड देखेपछि म अहिले पनि राम्रोसँग सुत्न सक्दिनँ । उनीहरूको आत्माले ब्यूँझाइदिन्छ ।’ उत्तरका नागरिकले पशुको जस्तो जीवन बिताइरहेको उनले दाबी गरे । दक्षिण आएका उत्तरका निर्वासित सबैका पीडा छन् । हाल करिब २८ हजार त्यस्ता पीडित दक्षिणमा बस्दैआएका छन् ।

दक्षिणले उनीहरूलाई सम्मानजनक व्यवहार र नागरिकको हैसियत दिएको छ । उत्तरबाट सन् १९९७ मा भागे पनि होङ युलाई दक्षिण आइपुग्न धेरै सकस आइलाग्यो । भागेर चीन आइपुगेपछि उनलाई चिनियाँ प्रहरीले पक्राउ गरी पुनः उत्तर फर्काइदियो । त्यसपछि उनले चरम यातना पाउनुका साथै जेलको कष्टकर जीवन भोगिन् । युले भनिन्, ‘दोस्रो प्रयासमा म दक्षिण कोरिया पुगें तर मैले प्यारी बहिनी गुमाएँ । उसको अवस्था के छ, मलाई थाहा छैन ।’

उत्तर कोरियाली सैनिकको ५ सय ६७ युनिटमा नर्सिङ विभागमा काम गरेकी ३९ वर्षीया क्योङ हेइ आन पनि अहिले दक्षिण कोरियामा छन् । उनले उत्तरको सैनिक संरचनाभित्र यौन हिंसा हुने र महिला सैनिकले उपल्लो दर्जाका अधिकारीसँग यौनसम्पर्क राख्नुपर्ने बाध्यता रहेको बताइन् ।

भनेको नमाने अधिकारीले चरम यातना दिने गरेको उनले बताइन् । उनीहरू उत्तरमा भइरहेको मानवअधिकार हननप्रति चिन्तित देखिन्थे । उनीहरूले उत्तर कोरियामा मानवअधिकार स्थापित गराउन विश्वले साझा धारणा बनाएर त्यहाँका नागरिकको समृद्धिका लागि पहल गर्नुपर्ने आग्रह गरे ।by:annapurnapost

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.