रिल लाइफमा अनेक गर्ने मुन्द्रेले रियल लाइफमै गरे दर्जन बदमासी

२३ मंसिर, काठमाडौं ।
गाउँमा फलफूल चोरियो
हाम्रो स्कुल नजिक थिएन । सिन्धुपाल्चोकको ज्यामिरेबाट कोठेसम्म पुग्नुपथ्र्यो । हामी स्कुलबाट फर्किंदा ढिलो भइसकेको हुन्थ्यो । दिउँसो खाजा खाने नभएकाले औधी भोक लाग्थ्यो । बाटोमा फलफूलका बोट थिए । बाटोका घरका मानिसले खान दिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, कसैले दिँदैनथे । अनि हामी आइडिया लगाउँथ्यौँ । दुईजना साथी पानी माग्न घरमा जान्थे, पानी सार्न घरका मान्छे भित्र पसेका वेला अरू दुईजना साथीले बाहिर फलफूल चोथ्र्यौँ । एकपटक बोटमै पाकेका केरा देख्यौँ । हामीले चोर्न खोज्यौँ । तर, पक्राउमा परियो । मैले अर्को एउटा साथीको काँधमा चढेर केरा टिप्न खोजेको थिएँ, त्यहाँ हल्ला भएपछि त मलाई बोकेको साथीले फालेर नै भाग्यो ।
त्यतिवेला म सानै थिएँ । गाउँघरमा मेलापातमा पत्याउँदैनथे । छरछिमेकमा सबै मेला जान्थे । त्यस्तो समय फुल पार्न तयार कुखुराका पोथीलाई छेक्दै लगेर आफ्नो घरमा पराल ओच्छ्याएर न्यानो ठाउँ बनाइदिन्थेँ । यही काम गर्न कति दिन त म घाँस काट्न गइनँ, अरू काम गर्न पनि गइनँ । छिमेकीका कुखुराले पारेका फुल लगेर बजारमा बेचेपछि कमाइने पैसाले धेरै दिनसम्म आनन्द दिन्थ्यो ।

बसको ‘फम’ चोरेर, मोजाको भकुन्डो
हामी कहिलेकाहीँ कोठेबाट गाडीमा चढेर बाह्रबिसे, खाडीचौरलगायतका ठाउँ जान्थ्यौँ । गाडीमा च्यातिएको सिटमा बस्न पाउँदा खुसी हुन्थ्यौँ । त्यही च्यातिएको सिटमा हामीले सिटको फम निकाल्थ्यौँ, झोलामा फम हाल्थ्यौँ । त्यसरी फम चोरेर ल्याउँदा ठूलो पराक्रम गरेजस्तो अनुभूति हुन्थ्यो । त्यही फम मोजामा कोचेपछि हाम्रा लागि त्यतिवेला सबैभन्दा राम्रो फुटबल बन्थ्यो ।
पछि ९–१० कक्षामा पढ्ने भएपछि कन्डक्टरले हामीसँग पनि भाडा माग्ने भयो । त्यसपछि म कहिल्यै पनि बसभित्र बसेर यात्रा गरिनँ । कन्डक्टर र ड्राइभरले थाहा नपाउने गरी पछाडिबाट छतमा चढ्थेँ, अनि आफू पुग्ने ठाउँ आएपछि सुटुक्क पछाडिबाट ओर्लन्थेँ । भाडा तिर्नुपर्ने झन्झट पनि कहिल्यै उठाउनुपरेन ।

चिट चोरेर एसएलसी पास गरेँ
म अध्ययनमा त्यति राम्रो थिइनँ । सानैदेखि कसरी–कसरी चिट चोर्ने बानी बस्यो । फेरि स्कुलमा परीक्षामा त्यति ‘टाइट’ हुन्नथ्यो । एसएलसीको परीक्षामा भने तनाव भयो । हाम्रो ‘सेन्टर’ अलिक कडै थियो । तर, जहाँ समस्या, त्यहाँ उपाय ! एसएलसीका लागि मैले एउटा उनीको टोपी ठीक पारेँ । त्यसलाई ‘फोल्ड’ गरेर लगाएँ । त्यो पट्याएको ठाउँमा चिट राखेँ र परीक्षामा चोरेँ । विशेष गरी अंग्रेजीको परीक्षामा । फोल्डमा भएकाले चिटबारे त्यहाँ शिक्षकहरूले थाहा पनि पाएनन्, परीक्षाहलमा चिट चोर्न त पहिलेदेखि नै सिकिसकेको थिएँ ।

काठमाडौं आउन बिरामी भएको नाटक गरेँ
त्यतिवेला दाइहरू काठमाडौंमा हुनुहुन्थ्यो । मलाई पनि काठमाडौं आउन औधी मन लाग्थ्यो । तर, घरमा दिनुहुन्थेन । म फुच्चेलाई काठमाडौं आउनुपर्ने कुनै काम पनि हुँदैनथ्यो । तर, म बिरामी भएको नाटक गर्थेँ । सामान्य पेट दुख्दा पनि ऐया नि मरेँ भन्थेँ र लखतरान परिदिन्थेँ । अनि त उपचार गर्नका लागि मलाई दाइहरूले काठमाडौं नै ल्याउनुहुन्थ्यो । एकपटक होइन, मैले यस्तो फटाइँ दुई–चारपटक नै गरेँ ।

साथीको घरभित्रै पिसाब
साथीहरूसँग मिलेर एकै ठाउँमा बसेर पढ्यो भने राम्रो हुन्छ भन्ने थियो । हामी पनि दुई–चारजना साथीभाइ सँगै पढ्थ्यौँ । रातभर साथीका घरमा पढ्न जान रमाइलो नै हुन्थ्यो । त्यस्तो वेला पढ्न पर्दैनथ्यो, अनेक गफ पनि गर्न पाइन्थ्यो । तर, समस्या त्यतिवेला पथ्र्यो, जब पिसाब लाग्थ्यो । त्यतिवेला अहिलेजस्तो शौचालय थिएनन्, घरबाट बाहिर निस्कन डर लाग्थ्यो । मैले धेरैपटक बाहिर जान डर लागेकैले भर्‍याङबाट झरेपछि त्यसैको पछाडि पिसाब फेरिदिएको छु ।source:npheadlines

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.