नाकाबन्दीमा पल्सरलाई मालामाल

अनिल यादव । २५ मंसिर, सुनौली नाका ।

तीव्र गतिमा हाँक्न मिल्ने भनेर धेरैले रोज्ने गरेको पल्सर मोटरसाइकलको नारा छ -फियर द ब्ल्याक अर्थात कालोसँग होसियार। संयोग नै भन्नुपर्छ नेपालमा नाकाबन्दीका दौरान सुनौली सीमासँग जोडिएका भारतीय गाउँमा कालोबजारीको सबभन्दा ठूलो माध्यम बनेको छ पल्सर।

त्यसको एउटा कारण हो-उक्त मोटरसाइकलको ट्यांकीमा १५ लिटर तेल अट्नु।बेरोजगार युवा र विद्यार्थी केटाहरू दैनिक ३०० भारतीय रुपैयाँ भाडामा पल्सर मोटरसाइकल लिन्छन्, भारतीय पेट्रोल पम्पहरूमा ७० रुपैयाँ भारु तिरेर पेट्रोलले ट्यांकी भर्छन् र लाग्छन् सीमा पारी नेपालतिर।

BBC Hindi report on Pulsar

जहाँ उनीहरू १२५ देखि १३० भारु अर्थात् दुई सय जति नेपालीमा पेट्रोल बेचेर फर्किन्छन्।जसले जति बढी खेप पेट्रोल नेपाल गएर बेच्छ, उसको रात त्यति बढी रंगीन हुन्छ। हुन त तस्करीका लागि अरु मोटरसाइकल प्रयोगमा नआएका होइनन् तर पल्सरको तुलनामा अरु मोटरसाइकलहरूको ट्यांकी सानो हुने गरेकोले तस्करी गर्नेहरूलाई त्यति फाइदा नहुने रहेछ।

तीव्र गतिमा मोटरसाइकल कुदाउने यी किशोरहरू पछिल्लो एक महिनादेखि मुखमा मास्क लगाउन थालेका छन् तर त्यो खेतको धूलोबाट जोगिन नभई पेट्रोल पम्पका कर्मचारी र प्रहरीबाट बच्न हो। किनकि पटकपटक आवतजावत गर्नेहरूलाई प्रहरीले केरकार गर्छ र पेट्रोल पम्पहरू छेड हान्छन्।
सीमा अवरोधले ट्राभल एजेन्सीहरू कामविहीन भएका छन् तर ट्याक्सीमा ट्यांकीभरि तेल भरेर चालकहरू आम्दानी गरिरहेका छन्। नाकाबन्दीबीच कैयौं नयाँ युवा लगानीकर्ताहरू जन्मिएका छन् जसका किस्सा पेट्रोल पम्पहरूमा सुन्न पाइन्छ।

आम्दानी
सुनौलीदेखि २५ किलोमिटर टाढा पर्ने एउटा जाँच चौकीसँग जोडिएको ठूंठीबारी गाउँका एकजना बेरोजगार युवाले १५,००० भारुमा पुरानो मोटरसाइकल किनेका थिए। लगानी असुलेर अहिले उनी पैसा छापेसरह आम्दानी गरिरहेका छन्।

सीमा नाकासँग जोडिएको बरगदवा क्षेत्रबाट केही दिन पहिले डिजल लिएर गएका एकजना युवकलाई नेपालको नवलपरासी जिल्लामा मधेशी आन्दोलनकारीहरूले गोली हानेको बताइएको थियो। तर पल्सर चालक युवाहरू उक्त घटनाको चर्चा गर्न चाहदैनन्।

उनीहरूका लागि त्यो घटना अपवाद मात्र हो, जुन कालोबजारीसँग सम्बन्धित नभई आपसी रिसइबीसँग जोडिएको थियो। जसले मोटरसाइकल जुटाउन सक्दैन, उसले साइकलबाट जर्किनमा तेल तस्करी गर्छ।

यहाँसम्म कि विपन्न महिला र किशोरीहरू पनि पैसा सापटी लिएर ५र७ लिटर डिजेल खरिद विक्री गरी आम्दानी गर्ने गरेका छन्।source:npheadlines

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.