दक्षिण एसियाकै बहुप्रतिष्ठित ‘पावर सिल्करोड’ योजनामा चीनले नेपाललाई छान्यो

काठमाडौं, ११ मंसिर । दक्षिण एसियाकै बहुप्रतिष्ठित ‘पावर सिल्करोड’ योजनामा चीनले नेपाललाई छानेको छ ।

छिमेकी देशहरूलाई उर्जा नेटवर्कमा जोड्ने गरी चीनले ल्याएको ‘पावर सिल्करोड’ योजनामा नेपाल छानिएको हो । सिल्करोड पुनरुत्थानलाई केन्द्रमा राखेर क्षेत्रीय पूर्वाधार निर्माणमा जुटेको चीनले पहिलो चरणमा सिन्ज्याङमा उर्जा नेटवर्क निर्माणका लागि ३१ अर्ब अमेरिकी डलरको महत्वकांक्षी योजना अघि सारेको हो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार दीर्घकालीन योजना अन्तर्गत पहिलो चरणमा पाँच वर्षभित्र चीनको उत्तर–पश्चिम क्षेत्र सिन्ज्याङलाई पाकिस्तान र मध्य एसियाली देशहरूसँग जोड्ने ग्रिड निर्माण गर्न सिन्ज्याङ प्रान्तले ३१ अर्ब डलर (२०० अर्ब युयान) लगानी गर्नेछ ।

चीनको स्टेट ग्रिड कोअपरेशन अन्तर्गतको सिन्ज्याङ इलेक्ट्रिक पावर कम्पनीका अनुसार सिल्करोड आर्थिक क्षेत्रको मुख्य केन्द्र सिन्ज्याङमा ‘पावर सिल्करोड’ परियोजनाको रुपमा २०२० भित्रै विद्युत प्रशारण लाइन निर्माण गरिने छ ।

शुरुमा पाकिस्तान र मध्य एसियाली देशहरूलाई जोड्ने गरी सिन्ज्याङमा उर्जा नेटवर्क निर्माण गर्ने र नेपाल सहित अन्य देशहरूलाई नेटवर्कमा जोड्दै जाने चीनको स्टेट ग्रीड नेटवर्ककका अध्यक्ष लीउ झेन्याले जानकारी दिनुभयो ।

अध्यक्ष लीउका अनुसार चीनले २०५० सम्ममा विश्व उर्जा नेटवर्क निर्माण गर्ने लक्ष्य राखेको छ । २०३० सम्म स्वच्छ उर्जा र त्यससम्बन्धी पूर्वाधार निर्माणमा चीनको लगानी ८२० अर्ब युयान पुग्ने उनको अनुमान छ ।

सिल्करोड पुनरुत्थानमा नेपालको संलग्नताले चीनलाई भूमार्गबाट दक्षिण एसियासँग जोड्ने विश्वास गरिएको छ । यो योजनाले नेपाललाई पनि विश्वसँग थप परिचित बनाउने छ ।

यस अघी नेपालले आफूलाई पनि पावर सिल्करोडमा जोडन आग्रह गर्दै आएको थियो । चीनले नेपालले चरम उर्जा संकट र इन्धन संकट झेलिरहेको समयमा नेपाललाई पनि समावेश गरेको हो ।
dainiknepal

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.