फिल्मकी अभिनेत्री कोपिला सीतापाइला-रत्नपार्क रुटमा टेम्पो चलाउँछिन्
साँझ साढे चार बजे आरएनएसी पुग्दा उनी टेम्पो स्टेसनमा हामीलाई कुरिरहेकी थिइन्। उनलाई चिन्न हामीले फोन गर्यौं। उनले आफ्नो टेम्पो नम्बर बताइन्। संयोगले हामी उनकै टेम्पोछेउमा रहेछौं।
गोलो, हँसिलो चेहराकी कोपिला तामाङले मुस्कान फालिन्।
उनको एउटा हात टेम्पोको स्टेरिङ र अर्को हात आफ्नो च्यापुमा अडिएको थियो। चिनापर्चीपछि हामीले फोटो खिच्न अनुरोध गर्यौं। टेम्पोपछाडिका यात्रु सिटमा बसेर फोटो खिच्दै गर्दा उनी लजाएझैं बोलिन्, ‘बाटो खत्तम छ, आज ताहाचलको पानी जमेको खाल्डोमै टेम्पो बिग्रियो। आफैं बनाउँदा जिउभरी हिलैहिलो। यस्तो बेला पनि ट्राफिकले किचकिच गर्न छोड्दैन भन्या।’
‘हिलो लागेर के भो त! तपाईं यत्तिकै राम्री हुनुहुन्छ नि,’ हामीले भन्यौं।
उनी केही नबोली खुलेर हाँसिन्।
र, क्यामरासामु ‘पोज’ दिन थालिन्।
उतिबेलै कम्मरमा ‘मनी ब्याग’, हातमा रसिद र पैसाको सानो बिटो, मुखमा पराग चपाउँदै एक अधवैंशे पुरुष आइपुगे। उनले कोपिलालाई कुन्नी के भनेर जिस्क्याए। ड्राइभर सिटमा बसेर पोज दिइरहेकी कोपिला झनै लजाइन्।
पछि थाहा भयो, कोपिलालाई तिनले भनेका रहेछन्, ‘ए हिरोनी!’
...
‘ए हिरोनी!’
करिब एक वर्षदेखि कोपिलालाई चिन्नेजान्नेहरू यही भनेर बोलाउँछन्। जवाफमा कोपिला भन्छिन्, ‘तेसो नभन्नु न।’
यो क्रम फेरि–फेरि पनि चलिरहन्छ।
तीन वर्षदेखि सीतापाइला, छाउनी, कालिमाटी हुँदै रत्नपार्कसम्म टेम्पो चलाउने कोपिला खासमा ‘हिरोनी’ नै हुन्। चर्चित हास्यकलाकार रवि डंगोल ‘बेमान’ निर्देशित फिल्म ‘टेम्पो चालक’की मुख्य नायिका।
रत्नपार्क–छाउनी रूटमा टेम्पो चलाउँदा–चलाउँदै फिल्ममा मुख्य अभिनेत्री बनेकी हुन् कोपिला।
हामी उनको जीवनकथा सुन्न यही रूटमा उनीसँगै यात्रा गर्दै थियौं। म कोपिलाको देब्रेतिरको सिटमा बसेको थिए। आरएनएसीमा आधा भरिएपछि टेम्पो अघि बढ्यो। रत्नपार्कमा पूरै भरियो। साहिदगेट पुगेपछि त दुई जना मान्छे झुन्डिए पनि। उनले यात्रुलाई आदेश दिइन्, ‘टाउको भित्र छिराउनू है, अहिले ट्राफिकले किचकिच गर्छ।’
हामी गफिँदै थियौं। उनी सवारी जाम, ट्राफिक प्रहरी, लेन मिच्ने सवारी चालक र यात्रुबारे अनेक गुनासो सुनाउँदै थिइन्।
सानो गल्तीमा पनि ट्राफिकले ठूलो रकमको चिट काटिदिँदा उनलाई रिस उठ्दो रहेछ। तै उनले अहिलेसम्म त्यति ठूलो सजाय भोगेकी रहिनछिन्। ‘हस्पिटलको बाटो हिँड्नुपर्छ,’ उनले गुनासो गरिन्, ‘मान्छेलाई जानैपर्छ। बिरामीजस्तो कुरा, नचढ भन्न नि अप्ठ्यारो। चढाउँ भने ट्राफिकको किचकिच। फेरि जाम उस्तै, त्यस्तो बेला अचाक्ली टाउको दुख्छ।’
उनले यसो भनिरहँदा टेम्पो त्रिपुरेश्वरको जाममा रोकिएको थियो। मोटरसाइकलहरू जबर्जस्ती छिर्न खोज्दै थिए। उनले मोटरसाइकल चालकप्रति आक्रोश पोखिन्, ‘सबैभन्दा धेरै लेन मिच्ने त यी बाइकवालाहरू नै हुन्। अस्ति एउटा आफैं पेल्दै आयो र ठोक्कायो। अनि मलाई पो ‘सरी भन्’ भन्छ। झन् पछाडि ‘लेडिज’ राखेको छ भने त तिनीहरू आँखै देख्दैनन्।’
यसो भन्दा उनी मुसुक्क हाँसिरहेकी थिइन्।
गुड्दै जाँदा टेम्पो जहाँजहाँ पुग्थ्यो, उनी त्यही ठाउँको एउटा–एउटा विशेषता सुनाइहाल्थिन्। विशेषता उही, ट्राफिक प्रहरी, जाम, बाटोकै। कालिमाटी चोक पुग्नै लाग्दा भनिन्, ‘यहाँको ट्राफिक साह्रै कडा थियो, एकैदिन ११ वटा टेम्पोको चिट काटिदिएको। अहिले सुन्धारातिर सरेको छ।’
टेम्पो सीतापाइला पुग्यो। अघिपछिका दिनमा आठ ट्रिप (१६ पटक ओहोरदोहोर) गर्न भ्याउँथिन्, त्यसदिन टेम्पो बिग्रिएकाले पाँच ट्रिप मात्र गर्न भ्याइछन्। चारवटा टेम्पोधनी उनका ‘साहु’ पनि ड्राइभरहरू विदा बसेका दिन आफैं हाँक्दा रहेछन्। नभन्दै साहु सीतापाइलामा टेम्पो चलाएकै अवस्थामा भेटिए।
‘अब ट्रिप भ्याउँदिनँ, ग्यारेज जान लाग्या,’ साहुसँग विदा मागेर उनले टेम्पोलाई कलंकीतिर मोडिन्।
बाटोमा साहु असल र मिजासिलो भएको सुनाउँदै उनले प्रतिट्रिप ४ सय २० रुपैयाँ साहुलाई बुझाउनुपर्ने बताइन्। हरेक दिन उब्रेको ‘टाँका’ (बुझाउनुपर्नेभन्दा बढी उठेको रकम) सहकारीमा जम्मा गर्दिरहिछन्। कलंकी चोक नपुग्दै एक गल्लीमा उनले टेम्पो हुलिन्, जहाँ उनको टेम्पो ग्यारेज छ। एउटा क्याफेअगाडि टेम्पो रोकेर मलाई त्यहीँ कुर्न भनिन् र ग्यारेजतिर लागिन्। केही बेरमा ग्यारेजको काम सकाएर उनी आइपुगिन्।
अनि, मलाई कथा सुनाउन तयार भइन्।
...
जुन सिटमा बसेर म आरएनएसीबाट कलंकीसम्म यात्रा गरेको थिएँ, त्यही सिटमा करिब डेढ वर्षअघि एउटा पातलो ज्यानका व्यक्ति चढेका रहेछन्।
कालिमाटी जान लागेको बताउने ती व्यक्ति र कोपिलाबीच बातचित चल्यो। गफिँदै जाँदा ती व्यक्तिले भनेछन्, ‘म अस्ट्रेलियाबाट भर्खरै आएको। टेम्पो ड्राइभरको कथामा फिल्म बनाउँदै छु। हामीलाई टेम्पो नै चलाउने नायिका चाहिएको छ। तपाईं खेल्नुहुन्छ बहिनी?’
ती व्यक्ति थिए, फिल्म निर्माता गंगाबहादुर श्रेष्ठ।
कोपिलाले ती व्यक्तिले चाल नपाउनेगरी शरीर, लवाइ, बोलिचाली नियालिन्। उनलाई ती व्यक्ति कुनै पनि कोणबाट फिल्म बनाउने मान्छेजस्ता लागेनन्। टेम्पो चलाउँदाको दुई वर्षमा उनले अनेक रुपरङका ‘गफाडी यात्रु’ भेटेकी थिइन्। मनमनै सोचिन्, ‘कस्ता–कस्ता मान्छे चढ्छन् है टेम्पोमा पनि!’
अनि जवाफ दिइन्, ‘इन्ट्रेस्ट छैन मलाई।’
ती व्यक्तिले पटक–पटक अनुरोध गर्दा पनि उनले मान्दै मानिनन्। भाडा तिरेर ती व्यक्ति आफ्नो बाटो लागे, कोपिला आफ्नै बाटो।
तीन महिनापछि एक व्यक्ति आरएनएसीमा त्यही सिटमा चढ्न आइपुगे। पछाडि सिटमा कोही यात्रु थिएनन्। कुन्नी के ‘मुड’ मा कोपिलाले ती व्यक्तिलाई भनिछन्, ‘दाइ पछाडि बस्नु न।’
ती व्यक्तिले अगाडि नै बस्ने जिद्दी गरे। उनी चुप लागिन्।
बाटोमा आउँदै गर्दा ती व्यक्तिले तीन महिनाअघिजस्तै फिल्मकै कुरा उप्काए। कोपिलाले अनुहार हेरिन्। ती व्यक्ति उनै थिए, जसले कोपिलालाई फिल्म खेल्ने प्रस्ताव राखेका थिए।
त्यतिबेला भने कोपिलालाई आंशिक पत्यार लाग्यो। दोस्रोचोटिको भेटमा गंगाले आफ्नो ठेगाना पनि टिपाए।
कोपिलाका भिनाजु तेक्वान्दो खेलाडी हुन्। उनले केही फिल्ममा अभिनय पनि गरेका छन्। भोलिपल्ट कोपिला उनै भिनाजुलाई लिएर गंगाले दिएको ठेगानामा पुगिन्। त्यस दिन फिल्म निर्देशक रवि डंगोल पनि त्यहीँ थिए। निर्देशक डंगोलले फिल्मको कथा सुनाए।
उनले फिल्म खेल्ने मञ्जुरी दिइन्।
केही दिनपछि फिल्मको अभ्यासका लागि उनलाई बोलाइयो। फिल्मको सुटिङसम्म नदेखेकी उनलाई अभिनय गर्न लाज लाग्यो। ‘जतिखेर पनि हाँसो उठ्थ्यो,’ उनले सुनाइन्, ‘आफ्नै भाषा मात्र बोल्नुपर्ने भएकाले सुटिङमै गर्न सक्छु भनेँ। उहाँहरूले पनि हुन्छ भन्नुभयो।’
तामाङ, नेपाली र नेवारी भाषामा बनेको फिल्म 'टेम्पो चालक' को कथा कोपिलाको जीवनसँग आंशिक मिल्छ। जहाँजहाँ उनले टेम्पो चलाउँछिन्, फिल्ममा पनि यिनै ठाउँका दृश्य समावेश छन्। बाबुले रक्सी खाने दृश्य पनि थोरै मिल्छ।
‘मलाई त फिल्म सुटिङ गर्दा आफ्नै जीवन फेरि बाँचेजस्तै लाग्यो,’ कोपिलाले भनिन्।
...
धादिङ, तसर्पु–१ मा जन्मिएकी कोपिलाको गाउँमा उनले खेलेको फिल्मको पोस्टर ठाउँठाउँमा टाँगिएका छन्। गाउँ पुग्दा सहरमा जस्तै चिनेजानेकाले ‘हिरोनी’ भन्छन्।
गाउँका बालबालिकाले सानैदेखि टिभी, डिभिडीबाट फिल्म हेर्न सिकिसकेका छन्। कोही–कोही त भविष्यमा हिरो÷हिरोइन बन्ने सपना देख्न थालेको पनि कोपिलाले भेटेकी छन्। तर, उनको बाल्यकाल यति सहज थिएन।
उनलाई सम्झना भएअनुसार फिल्म त के, पोस्टर पनि सहर आएपछि भित्ता र टेम्पोमा टाँसिएका मात्र देखेकी थिइन्।
२४ वर्षअघि दसौं सन्तानका रूपमा जन्मिएकी कोपिलाले आफ्नी आमाको मुख कहिल्यै देख्न पाइनन्। उनलाई जन्म दिएको केही घन्टामै आमा उच्च रक्तस्राव भएर बितेकी थिइन्। उता, कोपिलाकी माइली काकीको छोरा जन्माएको सातौं दिनमै कोख उजाडिएको थियो।
पुत्र वियोगको तेस्रो दिनमा माइली काकी नै कोपिलाकी आमा बनिन्। त्यसको केही दिनमै कोपिलाका बाबुले दोस्रो बिहे गरे।
आठ वर्षसम्म कोपिला माइली काकीसँगै हुर्किइन्। त्यसपछि हजुरबासँग बसिन्। हजुरबासँग बसे पनि उनी माइली काकी र आफ्नो बाबुको घरमा उत्तिकै जान्थिन्, बस्थिन्, खान्थिन्। उनलाई तीन घरमध्ये कुनै एक रोज्नु परे गाह्रो लाग्थ्यो। तीनै परिवारले उत्तिकै माया गरे पनि उनको बाल्यकाल दुःखपूर्ण थियो।
एक घन्टाको जंगलको बाटो स्कुल जानुपर्थ्यो। दाइ मुटुका बिरामी थिए। त्यसैले बीचैमा पढाइ छाडे। दाइले छाडेपछि पाँच कक्षामै उनको पनि पढाइ टुंगियो। उनी घरधन्दामा लागिन्।
उनकी आमाले १० वटा सन्तानलाई जन्म दिए पनि अहिले जम्मा ६ जना जीवित छन्। ती ६ जनै कोही टेम्पो त कोही अरू सवारी चलाउने काम गर्छन्। कोपिलाकी माइली दिदी घरकी सबैभन्दा पहिलो ड्राइभर हुन्। उनलाई जेठो भिनाजुले ड्राइभर बनाएका थिए। त्यसपछि विस्तारै परिवारका सबै दिदीभाइ ड्राइभर बने।
जेठी दिदीले नै उनलाई टेम्पो सिक्न काठमाडौं ल्याएकी हुन्। त्यतिबेला उनको उमेर जम्मा १४ वर्ष थियो। कम उमेर भएकाले इन्स्टिच्युटले उनलाई टेम्पो सिकाउन मानेन। दिदीले काखी च्यापेर एक महिनामै टेम्पो चलाउन जान्ने बनाइन्। त्यसपछि धादिङबेसीबाट दुई वर्ष उमेर बढाएर नागरिकता बनाइन्। तर, पनि लाइसेन्स बनाउन उमेर पुगेन।
टेम्पो लाइसेन्स नबनेपछि कोपिला पस्मिना कारखानामा काम गर्न थालिन्।
पस्मिना कारखानामा काम गर्दाको दुःखले उनलाई अहिले पनि झस्काइरहन्छ।
‘बिहान ९ देखि पाँच बजेसम्मको ड्युटी थियो’, उनले सम्झिइन्, ‘ओटीको लोभले हामी बिहान पाँच बजेदेखि राति आठ÷नौ बजेसम्म काम गथ्र्यौं। सुरुको एक वर्ष लुगा धुने काम थियो मेरो। सुरुसुरुमा त हातै छियाछिया परेर रगत आउँथ्यो। राति ज्यान र हात उत्तिकै दुखेर सुत्न सकिँदैनथ्यो। त्यतिबेला दिदीहरू निद्रा मारेर मलाई औषधीमुलो गर्थे। एक वर्षपछि भित्रको सजिलो काम पाएँ। तलब पनि बढ्यो। त्यहाँका साहुले पनि माया गर्थे। अहिले पनि बोलाइराख्छन्।’
कोपिला आफूलाई दुःख पाएको मान्छे र भाग्यमानी दुवै तरिकाले अर्थ्याउँछिन्। सानैदेखि अहिलेसम्म दुःखले नछाडेको सम्झँदा उनलाई आफू दुःखीजस्तो लाग्दो रहेछ र सोच्दै जाँदा उत्तिकै भाग्यमानी पनि पाउँदी रहिछन्।
‘मलाई परिवार, साहु सबैले माया गर्छन्,’ उनी भन्छिन्, ‘मैले सौतेनी आमाबाट पनि हेलाँ खेप्नुपरेन। आमा बिते पनि काकीले बचाउनुभयो। म सानो छँदा साह्रै बिरामी परेको थिएँ रे। त्यतिबेला मेरो बुबाले उपचार खर्च नव्यहोर्दा काकाले भैंसी बेचेर उपचार गराउनुभएको रे। त्यस्तो सुनेपछि उहाँहरूको झन् माया लाग्छ।’
उनी बोल्दा–बोल्दै भावुक बनिन्।
‘मलाई अत्यन्तै माया गर्ने दुई जना बित्नुभयो, दाइ र हजुरबा। आमा पनि बित्नुभयो। मलाई सधैं मृत्यु भएकाहरूको मात्र याद आइराख्छ। भन्छन् नि, टुहुराहरूलाई जति माया गरे पनि पुग्दैन भनेर। माया गर्नेहरूले एक शब्द पनि चर्को स्वरले बोले भने आँशु खसिहाल्छ। तै अहिलेसम्म कसैको हेला खेप्नुपरेको छैन। हुन त हेपाइ नखाई बाँच्ने मान्छे को नै होला र! मेरा पनि छन् होला। तर, भगवानले कहिल्यै नहेपुन्।’
कुरा गर्दागर्दै उनको फोन बज्यो। रिङटोन म्युट गरिन्। फेरि बजेपछि मैले भनेँ, ‘अप्ठ्यारो मान्नु पर्दैन उठाउनुस् न।’
उनले उठाइन् र भनिन्, ‘म ग्यारेजमै छु, कोठा पुगेपछि गर्छु।’
फोन राखेपछि उनी आफैंले कुरा झिकिन्, ‘श्रीमानले गर्नु’भा।’
उनका श्रीमान बहराइनमा कुक काम गर्दा रहेछन्। हरेक काममा श्रीमानको सहयोग पाउँदा आफूलाई झनै भाग्यमानीजस्तो लाग्दो रहेछ उनलाई।
‘लभ म्यारिज हो?’
‘होइन,’ उनले भनिन्, ‘दुःखी मान्छेहरूलाई त माया गर्ने फुर्सद पनि नहुँदो रहेछ। काममा मात्र खटिँदा त्यतातिर सोचिँदै सोचिएन।’ ‘जाँडरक्सी नखाने केटो’ भेटेपछि सात वर्षअघि उनका बाबुले नै बिहे गराइदिएका रहेछन्। छोरी नै ६ वर्षकी भइसकिन्।
‘यति राम्रो मान्छेलाई मन पराउने त थिए होलान् नि?’ हामीले सोध्यौं।
‘पस्मिना कारखानामा काम गर्दा एउटा लिखुरे थियो, माया गर्छु, बिहे गछ्र्यौ भनेर जिस्क्याइरहन्थ्यो,’ बल्ल उनी खुलिन्, ‘एक दिन कपडामा आइरन लगाइरहँदा जिस्क्यायो। मलाई साह्रै रिस उठ्यो। अनि गएर ङ्याक्दिएँ। बदलामा त्यसले आइरनले डामिदियो। म अलि ज्यांगै थिएँ। त्यसलाई कुट्न गाह्रो थिएन। त्यस दिनदेखि जिस्क्याउन छोड्यो।’
‘बाटोमा हिँड्दा अरू ड्राइभरहरू कत्तिको जिस्क्याउँछन् नि?’
‘जिस्क्याए पनि म वास्तै गर्दिन,’ उनले भनिन्।
...
टेम्पो मजदुर संघले उनी अभिनीत फिल्म 'टेम्पो चालक' च्यारिटीमा देखाएको थियो। कोपिलाले हलमा गएर आफ्नो फिल्म पहिलोपटक हेरेको त्यही बेला हो।
सबैले राम्रो भने पनि उनलाई भने आफ्नै अभिनय अरूको भन्दा कमजोर लागेछ। फिल्ममा अभिनय गरुञ्जेल लाज लागेको सम्झँदै उनी भन्छिन्, ‘लाज नमानी काम गरेको भए अझै राम्रो गर्न सक्थेँ हुँला जस्तो लाग्यो। अबचाहिँ राम्रो कथामा फिल्म खेल्न पाए पहिलेभन्दा राम्रो गर्छुजस्तो लाग्छ।’
यो फिल्म बन्नुअघि अभिनेत्री भइएला भनेर उनले कल्पनासम्म गरेकी थिइनन्। फिल्म खेलेपछि पनि उनलाई त्यो सपनाजस्तै लाग्दो रहेछ।
‘सबैले ‘हिरोनी’ भन्दा कस्तो लाग्छ नि?’
‘यसरी जिस्क्याउँदा त लाज लाग्छ,’ उनी भन्छिन्, ‘पछिचाहिँ मैले फिल्म खेलेको छु र जस्तो लाग्छ।’
गफ गर्दा–गर्दै बेलुकीको साढे आठ बजिसकेको थियो। उनको फोनमा दर्जनभन्दा बढीपटक रिङटोन बजिसकेका थिए। होटलवालाले पनि सटर लगाउने बेला भयो भन्ने संकेत दिए।
मैले ती होटलवालासँग दस मिनेट समय माग्दै कोपिलातर्फ इशारा गर्दै भनेँ, ‘उहाँले फिल्म खेल्नुभा’छ नि। त्यही कुरा गरि’रा।’
उनले कुन–के–कहाँजस्ता प्रश्न गरे।
सबै बुझिसकेपछि कोपिलालाई उसैगरी सम्बोधन गरे, ‘ए... हिरोनी!’