आजको कान्तिपुरबाट : दरबार हत्याकाण्ड: प्रम गिरिजा उक्तदिन दरबार नगएकाले बचेका थिए, शब-यात्रामा पनि भएको थियो हत्या प्रयास!

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला शयन कक्षमा गएसँगै वालुवाटारमा रातिको ड्युटीमा खटिने सुरक्षाकर्मी र सहयोगीबाहेक अधिकांश सहयोगी घर फर्किए ।
२०५८ जेठ १९ गते राति १० बजेर पाँच मिनेट जाँदा प्रधानमन्त्रीका निजी सचिव गोकर्ण पौडेलको फोन बज्यो । काठमाडौं प्रहरी प्रमुख सागर थपलियाले भने, राजदरवारमा गोली चल्यो । लगत्तै दरबारबाट दुईजना हतियारधारी बाहिर निस्किए । जसमा एकजना शाहज्यादा पारस हुन् भन्ने हल्ला छ । पौडेलले फोन राख्न नपाउँदै राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीको फोन आयो, दरबारमा सबै मरे भन्छन् । मैले सम्माननीयजी -प्रधानमन्त्री) सँग कुरा गर्न खोजेको सकिनँ । लौ न हजुरले भनिदिनुपर्यो ।
पौडेलले तत्काल बालुवाटारमा फोन लगाए र रायमाझीलाई कोइरालासँग कुरा गराउनु अह्राए । त्यति नै बेला बालुवाटारका सहकर्मीले पौडेललाई, भर्खरै दरबारका सचिव पशुपतिभक्त महर्जनको फोन आएको थियो, सायद उनी आउँदै छन् भन्ने जानकारी गराए । दरबार हत्याकाण्ड भएको झन्डै एक घन्टापछि रायमाझीले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराए, सम्माननीयज्यू, सरकारलाई (राजा) सैनिक अस्पताल (छाउनी) लगेको छ म जाँदैछु । तपाईं आउनुहोला ।
कोइरालालाई लाग्यो- राजालाई हर्ट एट्याक भएछ । ल हुन्छ, म पनि अस्पताल आउँछु भनेर फोन राखिदिए ।
गाडी तयार गर्न लगाएर प्रधानमन्त्री कपडा लगाउन थाले । कोइरालाका साथी शिवध्वज बस्नेत पनि बालुवाटारमै बस्थे । तत्क्षण राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनको फोन भन्दै बस्नेतले प्रधानमन्त्रीलाई रिसिभर थमाए । फोनमा महर्जनले भने, प्रधानमन्त्रीज्यू म त्यहीँ आउँदै छु । केहीबेरमै बालुवाटार पुगेका महर्जन अलि नर्भसजस्ता थिए । दरबारमा राजारानीको हत्या भएको र गोली चलेको जानकारी कोइरालालाई उनैले दिए ।
अस्पताल जान तयार भएका कोइरालाले दरबार जाने निर्णय गरे । महर्जन डराएका थिए । उनैले कोइरालासँग भने- म पनि हजुरको मोटरमा अटाउँछु कि ! प्रधानमन्त्रीकै मोटरमा उनी दरबार गए । बालुवाटारबाट दरबार पुग्दा रातिको ११.३० भइसकेको थियो । दरबार पूरै सुनसान थियो । खालि केही आर्मी मात्र देखिन्थे । महर्जन र सैनिक सचिव विवेककुमार शाहले प्रधानमन्त्रीलाई घटनाबारे बि्रफ गरे ।
कोइरालाले २०६४ सालमा पंक्तिकारसँगको अन्तर्वार्तामा भनेका थिए, म घटनास्थल पुग्दा त त्यहाँ रगतका टाटा केही थिएनन् । घटनास्थल पानीले पखालेर सफा पारिसकिएको थियो । के भएको रहेछ भनेर हेर्छु भनेको त केही थिएन ।
उता प्रधानमन्त्रीका निजी सचिव पौडेल समाचारमूलक विदेशी च्यानल घुमाउँदै थिए । सीएनएन, बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दरबार हत्याकाण्डको ब्रेकिङ न्युज आइसकेका थिए ।
त्यसैबेला भारतीय राजदूत केभी राजन, अर्थसचिव विमल कोइराला, दर्जनौंका फोन एकपछि अर्को गर्दै आउन लागे । अनि पौडेल बालुवाटारतर्फ हानिए । प्रधानमन्त्री निवासको सुरक्षाका लागि हरेक दिन फरक-फरक कोड शब्द तय गरिन्छ । सुरक्षाको दृष्टिले त्यो कोर्ड बालुवाटारका सीमित कर्मचारी र सुरक्षाकर्मीबाहेक सेना र प्रहरीप्रमुखलाई समेत थाहा हुँदैन । कामका लागि अनुमति लिएर भेट्न आउने विशेष मानिसलाई सुरक्षा कोर्ड दिइएको हुन्छ । मध्यरातको आसपास प्रधानमन्त्री निवास पुगेका पौडेललाई त्यो दिनको कोर्ड थाहा थिएन । उनले तत्काल प्रधानमन्त्रीका एडीसीसँगलाई सोधेर कोर्ड थाहा पाए, “तिमी हाम्रो हो मित्र” ।
कोड भनेर पौडेल बालुवाटारभित्र पुग्दा प्रधानमन्त्री कोइराला दरबार गइसकेका थिए ।
दरबारबाट कोइराला सिधै सैनिक अस्पताल हानिए । कोइरालाले मलाई दिएको अन्तर्वार्तामा भनेका छन्, त्यहाँ एउटा नयाँ माहोल छ । वातावरण एकदमै तनावग्रस्त । सेनाको चालामाला मैले ठीक पाइनँ । कोइरालाको निधनपछि मात्र मलाई थाहा भयो त्यो दिन प्रधानमन्त्रीलाई सैनिक अस्पतालको एउटा कोठामा कसैसँग सम्पर्क गर्न नदिएर अत्यन्त अपमानजनक रूपमा राखिएको थियो ।
जीवनभर कोइरालाले त्यो दिन आफूमाथि भएको व्यवहार र अपमान सार्वजनिक गरेरनन् । अत्यन्त निकट विश्वास पात्रसँग मात्र गोप्य सूचना बाँड्ने स्वभावका कोइरालाले त्यस रातको घटनाबारे बालसखा भीम नौलखालाई भनेका थिए, त्यो दिन म झन्डैले बाँचें । युवराज दीपेन्द्रले त्यो दिनको पार्टीमा मलाई पनि बोलाएका थिए । मैले राजा वीरेन्द्रसँग कुरा गरें- सरकार म बूढो मान्छे । राति पार्टीमा किन आउनुपर्छ र ? युवराजधिराजबाट निम्ता बक्सेको छ । राजाले पीएम तपाईं आउनुपर्दैन भनेकाले म जेठ १९ गते राति दरबारको पार्टीमा जानुपरेन र बचें । नत्र त्यही राति राजा-रानीसँगै मलाई पनि मार्ने सुनियोजित षड्यन्त्र रहेछ ।
राति अस्पतालमा पनि मसँग राम्रो व्यवहार गरिएन ।
त्यसै दिन राति पुल्चोकस्थित मन्त्री क्वाटरमा रहेका मन्त्री रामकृष्ण ताम्राकारलाई एकजना आफन्तले फोन गरेर दरबारमा राजा-रानीसहित राजपरिवारका सवै सदस्य मारिएको समाचार सुनाए । ताम्राकारलाई झट्ट सुन्दा विश्वास लागेन । तत्काल बालुवाटारमा सम्पर्क गरे । प्रधानमन्त्रीलाई राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले दरबार लिएर गएको जानकारी पाउनेबित्तिकै उनी झसंग भए ।
राजा-रानीसहित राजपरिवारका सबै सदस्य मार्नेले प्रधानमन्त्रीलाई के बाँकी राख्लान् ?
हिजोआजजस्तो सबैको पहँुचमा मोबाइल थिएन । दुई चार राउन्ड फोन गरेपछि ताम्राकारलाई थाहा भयो, रानीसहित सबै घाइते सैनिक अस्पताल छन् । प्रधानमन्त्री पनि । ताम्राकार ढुक्क भए । ल प्रधानमन्त्रीलाई केही भएको रहेनछ ।
जेठ २०, २०५८ बिहान ४ बजे सबै मन्त्रीलाई एक घन्टाभित्र प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा हुनू भन्ने प्रधानमन्त्री कोइरालाको खबर प्राप्त भयो । सबै हतार-हतार बालुवाटर गए पनि मन्त्रीहरूले प्रधानमन्त्रीसँग भेट्न पाएनन् । उनीहरूलाई मैलपोस सुरुवालमा आर्मी हस्पिटलमै जम्मा हुनू भन्ने प्रधानमन्त्रीको सन्देश सहयोगीहरूले सुनाए । अनि सबै उतै हानिए ।
अस्पताल परिसरमा मन्त्रीहरूका लागि ठाउँ छुट्याइएको थियो । केही मेच र टेबल राखिएको त्यो ठाउँ न कोठाजस्तो सेपरेट, न त बरन्डाजस्तो खुला । आधा घन्टा बस्दासम्म मन्त्रीहरूको खोज खबर भएन । न त उनीहरूले त्यहाँ पनि प्रधानमन्त्री भेट्न पाए । फेरि बालुवाटारमै भेट्ने प्रधानमन्त्रीको सन्देश लिएर उनीहरू फर्किए ।
बालुवाटारको छोटो भेटमा मन्त्रीहरूले जिज्ञासा राखे, गिरिजाबाबु तपाईंले सबै कुरा हेर्न पाउनुभयो ? नकराऊ न यार । कस कसलाई हेर्ने ? म दरबार पुग्दा सबैलाई हस्पिटल पुर्याइसकेको रहेछ । राजा-रानी र युवराजको अनुहार मात्र हेरें । कहाँ गोली लागेको रहेछ हेर्न पाइएन । राजा-रानीको प्राण थिएन । युवराज दीपेन्द्र कोमामा छन् । बाँच्ने अवस्था छैन, कोइरालाले बताए । सबैले प्रधानमन्त्रीको अनुहार मात्र हेरे । केही बोलेनन् ।
सरकारी नियन्त्रणमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनमा लगातार शोक धुन बजिरहेको थियो । तर किन त्यो धुन बजाउनुपरेको भन्ने विषयमा सञ्चारमाध्यम मौन थिए ।
