Breaking news--काठमाडौँको असनमा राति भीषण आगलागी
तीन घर जलेर नष्ट, प्रहरी, सेना र स्थानीयवासीद्धारा नियन्त्रणको प्रयास
फाइल तस्वीर
काठमाडौँ, २४ मङ्सिर । काठमाडौँको असनस्थित त्यौडमा भीषण आगलागी भएको छ ।
असनचोकबाट करिब डेढ सय मिटर टाढा ठमेलतिर जाने गल्लीको दायाँ भागमा रहेका केही कच्ची घरमा आगलागी भएको हो । साँझ ७ः३० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
जनसेवा प्रहरी विशाल बजारका अनुसार आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुरबाट चार दमकल तथा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिपरेका छन् । स्थानीयवासी कुलरत्न तुलाधरको चारतले घरमा मैनबत्ती बाल्दा आगलागी भएको प्रहरीले जनाएको छ ।
जनसेवा प्रहरी विशाल बजारका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार उक्त क्षेत्रमा बाक्ला घर भएकाले कति घरमा आगलागी भएको भनी यकिन नभए पनि अहिलेसम्म तीन घर जलेर नष्ट भएका छन् ।
दमकलको सहायताले घरको बाहिरी भागको आगो नियन्त्रणमा आए पनि भित्रको निभाउन समस्या परेको उहाँले बताउनुभयो । साँघुरो गल्ली भएका कारण दमकल भित्र छिर्न नसकेपछि असन चोकमा दमकल राखेर भित्र आगो निभाइँदैछ ।source:a2zkhabar

