अभागी बाबु : जसले सात सन्तान र पत्नी एकैपटक गुमाए
युद्धबाट जोगिन समुद्री मार्गबाट भागेर युरोप पस्ने क्रममा यी सिरियाली बाबुबले २० दिनदेखि ९ वर्षसम्मका छोराछोरीलार्इ एकैपटक गुमाएका हुन् ।
सिरियाबाट ज्यान बचाएर कलिला सन्तान र पत्नीसहित डुंगामा चढेर युरोप पस्ने क्रममा पुरा परिवार समुद्रमा डुब्दा उनले सबै सन्तान गुमाउन पुगेका हुन् ।
डुंगा समुद्रमा डुबेपछि सिरियाली नागरिक अल साहोका सातजना प्यारा छोराछोरी र पत्नीको समुद्रमा डुबेर ज्यान गएको हो ।
उनी सपरिवार सिरियाबाट भागेर युरोप पस्न खोज्दा परिवारबिहीन बन्न पुगे । 'हामी समुद्रको बीचमा थियाैं हामी जलसीमा क्षेत्रबाट बाहिर निक्लिसकेका थिएनाैं । त्यहीबेला अग्लो समुद्री लहच चल्यो र डुंगा फुट्न पुग्यो । पानी हाम्रो डुंगामा भरिन थाल्यो र हामी सवार डुंगा डुब्यो ।'
'मेरी पत्नी र सबै छोराछोरी डुंगाको च्याम्बरमा थिए । डुंगा डुबेपछि मैले चारजना छोराछोरीको शव शवगृहमा देखेँ', उनले आँखाभरी आँस बनाउँदै भने, 'तर मेरी पत्नी र बाँकी छोराछोरीको शव अझै देखेको छैन । मैले उनीहरूलार्इ सदाका लागि गुमाएँ । मेरा छोराछोरी नै मेरा सबथोक थिए । मैले आफ्नो सबथोक गुमाएँ । म यो दुनियाँबाट अब केही चाहन्न ।'
उनले आफ्नी पत्नीलार्इ दुनियाँकी सबैभन्दा प्यारी पत्नीकारूपमा स्मरण गरे । 'मेरी पत्नी दुनियाँकी सबैभन्दा प्यारी पत्नी थिइ', उनले सुनाए, 'उनी धेरै इमान्दार र समर्पित थिइन् । म उनलार्इ सबथोक दिन तयार थिएँ । मैले उनलार्इ जोगाउनकै लागि युरोप लान खोजेको थिएँ तर आज मसँग केही पनि बाँकी रहेन ।' source:annapurnapost


