विधवाले टेकेको भन्दै जानकी मन्दिर ‘चोख्याउने’ को हुन् ?

३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जनकपुरको जानकी मन्दिर दर्शन गर्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले देखाएको ‘ताण्डव नृत्य’को सर्वत्र निन्दा गरियो । तर, त्यो भन्दा असैह्य हर्कत भोलीपल्ट भएको छ, जसलाई निन्दा मात्रै गरेर पुग्दैन ।राष्ट्रपति भण्डारी फर्केको भोलीपल्ट बिहिबार मधेसी मोर्चाका कार्यकर्ताले विधवाले मन्दिर टेकेर अपवित्र तुल्याएको भन्दै ‘गंगाजल’ ले मन्दिर पखाले । भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सले यसलाई ठूलै समाचार बनाएर छापेको छ ।उक्त अखबारलाई प्रतिक्रिया दिँदै घटनाका अगूवा सरोज मिश्रले भनेका छन्-‘मन्दिरमा विधवालाई पुजा गर्न दिइदैन । राष्ट्रपतिले जानकी मन्दिरमा प्रवेश गरेर हिन्दूहरुको आस्थामा चोट पुर्‍याएकी छिन् । त्यहि भएर उनले मन्दिरमा पाइला टेक्नासाथै मानिसहरु आन्दोलित भएका हुन् ।’


स्थानीय पत्रिका जनकपुर टुडेको शुक्रबारको अंकमा प्रकाशित समाचारमा मिश्रले दिएको प्रतिक्रिया झनै असैह्य छ । उनले यतिसम्म भनेका छन्, ‘पापी, हत्यारिणी, राक्षसनी, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा आफ्नो पापले भरिएको खुट्टा राख्दा मन्दिर अपवित्र भएको भन्दै श्रद्धालूहरुले दिएको पवित्र गंगाजल छर्केर मन्दिरलाई पूर्ण पवित्र बनाइएको हो ।’

तमलोपकाका जिल्ला परमेश्वर शाहले स्थानीय रेडियोमा बिहीबार ठ्याक्कै यस्तै बयान दिएका थिए । उनले भनेका थिए, ‘विधवाले टेक्दा मन्दिरको लच्छिन गएकाले गंगाजलले चोख्याएका हौं ।’आफ्नो भनाइलाई लिएर तीव्र आलोचना भएपछि मिश्रले आफ्नो बयान सच्याएका छन् । अनलाइनखबरसितको कुराकानीमा उनले नयाँ कथा सिर्जना गर्दै सुरक्षाकर्मीले ल्याएको कुकुरले मन्दिरको भूईं चाटेर फोहर बनाएकाले पखालेको दावी गरे ।यता, तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेषचन्द्र लालले बुधबार र बिहिबारका घटनामा मधेसी मोर्चालाई कुनै ग्लानी नभएको बताएका छन् । उनले ‘मधेसविरोधी’ राष्ट्रपतिको प्रवेशले मन्दिर असुद्ध भएकाले चोख्याएको बताए ।

राष्ट्रपति भण्डारी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन बुधबार जानकी मन्दिरमा पुगेकी थिइन् । उनी पुग्दा सयौंको संख्यामा तैनाथ सेना, प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले सुरक्षित रुपमा मन्दिर दर्शन गराएका थिए । उनी मन्दिर प्रवेश गर्दा आन्दोलनकारी ढिम्किन पाएनन् ।तर, बाहिरिने क्रममा सुरक्षाकर्मीको घेरा तोडेर आन्दोलनकारीले हुलहुज्जत र आक्रमण सुरु गरे । उनीहरुले राष्ट्रपतिको कारगेडमा ताकेर पेट्रोल बम समेत प्रहार गरेका थिए ।उनीहरु कालोझण्डा बोकेर मन्दिरको भित्री भागसम्म पुगे भने मुर्तिहरुमा तोडफोड प्रयाससमेत गरे । राष्ट्रपति फर्केपछि दिनभरीजसो प्रहरी र प्रदर्शनकारीबीच झडपहरु भएका थिए । त्यसको भोलीपल्ट मोर्चाका कार्यकर्ताले मन्दिर चोख्याएका हुन् ।
सरकारी शिक्षकलाई कानून लाग्दैन ?
प्रदिप झा नामका एक सरकारी शिक्षकले फेसबुकमा राष्ट्रपति भण्डारीलाई आपत्तिजनक शब्दहरु प्रयोग गर्दा तथानाम गाली गरेका छन् । यो समाचार लेख्दासम्म उनलाई प्रहरीले उनलाई पक्राउ गरेको छैन ।
सामाजिक सञ्जालमा फैलिएको उनको टिप्पणी यस्तो छ, ‘यसपालीको विवाह पञ्चमीको रौनक अलच्छिन विधवा देवी भण्डारीले समाप्त पारिन् । ठिकै भनिन्छ कि शुभ कार्यमा अलच्छिन र विधवालाई उपस्थिति हुनु हुँदैन । यहाँ त एउटै महिलामा दुवै गुण थियो ।’

जनताले तिरेको करबाट तलव खाने शिक्षक हुन् प्रदिप झा । यस्तो फोहोरी मस्तिष्क बोकेर हिँडिरहेका ‘गुरु’ ले बालबालिकालाई कस्तो शिक्षा दिइरहेका होलान् ? एउटा सरकारी शिक्षकले सार्वजनिक रुपमा देशको सम्मानित संस्थालाई विषाक्त शब्दहरु प्रयोग गरेर निकृष्ट टिप्पणी गर्दा कुनै कानून लाग्दैन ? नेपालमा ‘साइबर कानून’ नामको कानून क्रियाशील छ । यो कानून के ठूलाबडाले आफूलाई मन नपरेका व्यक्तिहरुलाई फसाउनका लागि मात्रै बनाइएको हो ?
म लज्जित छुः सभासद यादव

जनकपुरमा राष्ट्रपतिको भ्रमणका क्रममा भएको परिस्थितिलाई आफू लज्जित बनेको प्रतिक्रिया दिइन् जनकपुरकी चेली महोत्तरीबाट निर्बाचित कांग्रेस सभासद किरण यादवले ।
राष्ट्रपतिको भ्रमणका क्रममा उनी पनि साथै थिइन् ।विधवाले टेकेको भन्दै मन्दिर ‘चोख्याइएको’ विषयमा यादवले अनलाइनखबरसित भनिन्, ‘यो मानसिक सन्तुलन गुमाएकाहरुको क्रियाकलाप हो । यसलाई जति निन्दा गरे पनि कम हुन्छ । आजको जमानामा विधवाले मन्दिर प्रवेश गर्नुहुँदैन भन्नेहरुलाई मेरो कुनै जवाफ छैन् ।’‘यसअघि राष्ट्रपति मधेसी हुनुहुन्थ्यो । उहाँले पहाडमा पनि त्यत्तिकै सम्मान पाउनुभयो जति मधेसमा । यसपटक राष्ट्रले पहिलो महिला राष्ट्रपति पाएको छ । उहाँमाथि भएको यस्तो व्यवहारले मलाई व्यक्तिगत रुपमा अत्यन्त लज्जित बनाएको छ,’ यादवले भनिन् ।मिथिलाको संस्कृतिमा अतिथिलाई भगवानसरह मानिने भन्दै उनले यो घटनाले जनकपुरवासीको शिर झुकाएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.