
सिरहा: हरेक वर्ष कार्तिक शुक्ल पुर्णिमाका दिन कमला नदी किनारमा लाग्ने भुत मेलामा यस वर्ष पनि मानिसहरुको उल्लेख्य उपस्थिति रहयो ।
सिरहाको माडर ,वन्दीपुर , सारस्वर, उत्राईनी र धनुषाको ईनरवाघाटमा यो दिन मेला लाग्ने गर्छ । विभिन्न स्थानमा गरी दश हजार भन्दा बढी धामीहरु र लाखौं दर्शनार्थीहरुको घुईचो लागेको थियो ।
नेपालको सिरहा, सप्तरी, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लावाट तथा भारतको विहार र उत्तर प्रदेश राज्यका विभिन्न गाउँहरुवाट हजारौंको संख्यामा धामीझाँक्रीहरु यो मेलामा आउने गर्छन् । भूत मेला हेर्न तथा पुर्णिमामा कमला नदीमा स्नान गरी पण्य कमाउने हेतुले पनि धेरै सर्वसाधारण नर नारीहरु मेलामा आउने गर्छन् ।
मैथली संस्कृतिमा चाडको रुपमा मनाईने यो भूत मेलामा कार्तिक शुक्ल पुर्णिमाका दिन सुर्योदयसँगै कमला नदीमा स्नान गरी नयाँ धामी झाँक्रीहरुले गुरु समक्ष सपथ लिई दिक्षित हुने र भूत प्रेत लागेर विरामी परिरहनेहरुले धामी लगाएर पिसाच मन्साउने गर्छन् ।
चतुर्थीको दिन गाउँघरवाट मूल गुरु धामीको नेतृत्वमा नवोदित धामीहरु भजन मण्डली सहित काम्दै कमला नदीसम्म पुग्छन् । धामी बनेर काम्नेहरुलाई स्थानीय भाषमा भक्ता र भजन मण्डलीलाई भगतिया भनिन्छ ।
भगतियाहरुले झ्याली र मृदंग वाजाको तालमा भगैत गाएर देवी देवताको आह्वान गर्छन् । काम्दै, माटोको मकल (ढकना )मा धुपी सल्लोको दाउरा हालेर आगो बालेर हत्केलामा राखेर , वेतको लठ्ठी नचाउदै धामीको रुपमा दिक्षा लिन महिला तथा पुरुषहरु कमला किनारमा पुगेर अनेक प्रकारले कौतुक प्रदर्शन गर्छन् ।
गुरु धामीले उनीहरुलाई स्थानीय भाषामा सत्वैद ( सपथ ) गराउँछन् । सपथ लिएर कमला नदीमा स्नान गरे पछि उनीहरु नयाँ धामीको रुपमा दिक्षित भएको सामाजिक मान्यता प्राप्त गर्छन् ।
त्यसै गरी भूतप्रेत तथा पिसाचले दुःख दिएर विरामी परेका वा काम्ने गरेका नर नारीहरुलाई मूल गुरु धामीले तन्त्र मन्त्रद्वारा सिद्धी गरी कमलामा स्नान गराई मुक्त गराउने जन विस्वास पनि रहेको छ । धामीले कमला स्नान पछि किनारामा वसेर दही चिउरा खाने चलन पनि छ । मेलामा उत्सव मनाउन दिउँसो दंगल खेल र साँझमा परम्परागत नाँच प्रदर्शन गरिन्छ ।
हरेक वर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन कमला नदीको किनारमा हजारौ नयाँ धामीहरु दिक्षित हुने गर्छन् । गाउँमा रहेका पुराना धामीहरु वृद्ध हुदै गए पछि कूल देवता वा ग्राम देवताको रुपमा पुजिने गरेको देवीदेवता गाउँको असल तथा सचरित्र मानिएको युवायुवतिको सपनामा आएर धामी बन भन्ने जन विश्वास छ ।
दशैमा घटस्थापनाको दिन देखि नवरात्र रहुन्जेलसम्ममा सपनामा देवी देवता आएको देख्ने युवायुवतीहरु काम्न थाले पछि पुराना धामीले कार्तिक शुक्ल पुर्णिमाका दिन कमला नदी लगेर दिक्षित गर्ने आश्वासन दिन्छन् र उनीहरुलाई तन्त्रमन्त्र सिकाउन थाल्छन् । एक महिनाको अभ्यास पछि यस दिन कमलामा दिक्षा दिएर गुरुले धामी भएको घोषणा गर्छन् ।
तराईमा हरेक घरमा अन्हेरवाट, गोरैया, कालीवन्दी, गैंयाँ, दिनाभद्री जस्ता नाम गरेका कूल देवता र ग्राम देवताको पुजा हुने र यी देवताहरु स्थानीय धामीको शरीरमा सवार हुने मान्यता रहेकोले कार्तिक शुक्ल पुर्णिमामा लाग्ने भूत मेला तराइको संस्कृतिसँग जोडिएको छ ।
