अधिकार हरण भएको भन्दै तीर धनुष जुलुस

मधेसको एक इन्च भूमि पहाडलाई नदिने
राजविराज : द्वापर युगमा रामले तीर धनुषको सहायताले रावणको संहार गरी हरण भएकी धर्मपत्नी सीतालाई फर्काएझैँ आफ्नो अधिकार फिर्ता गर्ने भन्दै मधेसी मोर्चा सप्तरीले राजविराजमा सोमबार तीर धनुष प्रदर्शन गरेको छ ।

मोर्चाले मधेस र मधेसीको अधिकार हरण भएकोले फिर्ता गर्न सरकारको हतियारविरुद्ध तीर धनुष उठाएको बताए । जिल्लाको विभिन्न गाउँबाट आएका बालकदेखि बृद्धसम्म सबैले हातमा तीर धनुष बोकेका थिए ।



स्थानीय शिव मन्दिरबाट तीर धनुषसहित निस्किएको जुलुस राजविराज नगर परिक्रमा गरी सहिद दशन चोकमा विरोधसभामा परिणत भएको थियो ।

विरोधसभामा वक्ताहरुले तीन दलका शीर्ष नेताहरुलाई रावणको संज्ञा दिदै जारी आन्दोलन आरपारको रहेको बताए ।

मोर्चाका संयोजक रामपृत यादवको अध्यक्षतामा भएको विरोध सभामा नेसपा गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी, सदभावना पार्टीका दिनेश यादव, तमलोपाका रन्जित झा, रामसपा भुपेन्द्र यादव, फोरम लोकतान्त्रिकका उमेश साह, नेकपा माओवादी मात्रृका समूहका भगवती यादवलगायतले मधेसको एक इन्च भुमि पनि पहाडमा गाभिन नदिने जिकिर गरे ।

केपी ओलीलगायत ठूला दलका शीर्ष नेताप्रति खनिएका उनीहरुले मधेशमा आउन चुनौती दिदै मधेशी नेताहरुलाई कुनै पनि हालतमा नझुक्न आग्रह गरे ।
annapurnapost.com

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.