सुरु भयो कोइरालाको शवयात्रा, यो रुट हुँदै पुग्नेछ आर्यघाट
काठमाडौं, २७ माघ । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसोदेखि नै दशरथ रंगशालामा राखिएको शव अहिले आर्यघाटतर्फ लगिँदैछ ।
दशरथ रङ्गशालाबाट नेपाली सेनाको लु १. ग १४५ नम्बरको भ्यानमा कोइरालाको पार्थिव शरीरलाई राखी शवयात्रा सुरु गरिएको हो । शवयात्रा सुरु हुँदा राष्ट्रिय गीतको धुन बजाइएको थियो ।
शवयात्रा सिंहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइनेछ ।
शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको उल्लेखनीय उपस्थिति रहेको छ ।
सोमबार राति १२:५० बजे निधन भएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मंगलबार नै निर्णय गरेको थियो । उनको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै गरिनेछ ।
काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मंगलबार पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशालामा राखिएको थियो ।
कोइरालाको दाहसंस्कार पार्टीले हालै आर्यघाटमा सञ्चालनमा आएको विद्युत् शवदाह गृहमा गरिने जनाए पनि परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने छ ।

