'कर्मचारीले प्रविधि नचिन्दा ताराको जहाज दुर्घटना'!!!

काठमाडौं: रोमान म्यागासेसे पुरस्कार विजेता तथा प्रविधिविज्ञ महावीर पुनले कर्मचारीहरुको लापरवाहीका कारण पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटनामा परेको दाबी गरेका छन् ।


पोखरादेखि जोमसोमसम्मको जटिल हवाई रुटमा बिग्रिरहने मौसमबारे बुझ्न आफूले विकास गरि स्थापना गरेको प्रविधिको सदुपयोग गर्न नागरिक उड्ययन प्राधिकरण र त्यस मातहतका कर्मचारीले चासो नदिँदा जहाज दुर्घटनामा परेको उनले जनाएका हुन् ।

तारा एयरको जहाज दुर्घटनामा परेपछि आफ्नो भनाइ सार्वजनिक गर्दै नेपालका गाउँमा वायरलेस इन्टरनेट प्रविधि स्थापित गराउन सफल पुनले ताराको जहाज दुर्घटनाको प्रमुख दोषी प्राधिकरणका कर्मचारीहरुलाई बनाएका हुन् ।

'पोखरा र जोमसोम हवाई टावरका कर्मचारीहरुको लापरबाही र निस्कृयताको परिणाम यो दुर्घटना भएको हो', उनले भनेका छन्, 'हामीले पोखरादेखि जोमसोमसम्मको हवाई रुटमा जहाजकै मद्दतका लागि मौसमको लाइभ जानकारी दिन राखेको आइपी क्यामेराहरुको प्रयोग नगरि अनुमानका भरमा उडान भर्दा यो दुर्घटना भएको हो ।'

उनले सन् २०१० मा नेपाल वायरलेसमार्फत मुस्ताङको लेते नजिकैको लार्क्यु डाँडा र म्याग्दीको खोप्रा डाँडामा वैशाली भन्ने विश्व प्रख्यात वेदर स्टेशन र आइपी क्यामेराहरु हवाइजहाजको सहयोगका लागि जोडेपनि सदुपयोग नगरेकोमा दु:ख व्यक्त गरेका छन् ।

'हवाईजहाजको मद्दतका लागि जडान गरकेा ती उपकरणबाट इन्टरनेटमार्फत उडानहरुको रियल टाइम भिडियो र मौसमको सबै सूचना लिन लिन सकिन्थ्यो', उनले भनेका छन्, 'त्यसका लागि एटीआई बै‍कक र एक्यापबाट आर्थिक सहयोग जुटाइएको थियो । नागरिक उड्डयन प्राधिकरणको एक पैसा पनि परेको थिएन । तर ती उपकरण प्राधिकरणले प्रयोग नै नगर्दा यो अवस्था आयो ।'

ती उपकरणहरु चलाउनका लागि जोमसोम र पोखरा एयरपोर्टमा गएर आफूले सिकाएको पनि बताउँदै पुनले तर उनीहरुले ती उपकरणको उपयोग नै नगरेको बताए । 'जहाज दुर्घटना रोक्नैका लागि जोडिएका ती उपकरणले तीन वर्षपछि प्रयोग नगरी स‍ंरक्षणको अभावमा कामै गर्न छोडे', पुनले भनेका छन्, 'ती उपकरणहरु उपयोग गरे बापत हामीले कुनै शुल्क लगाएका पनि थिएनौ ।'

पोखरा जोमसोम हवाई रुटको म्याग्दीको मोहरे डाँडामा अहिले पनि दुईवटा आईपी क्यामेरा सुचारु अवस्थामा रहेको बताउँदै पुनले ती क्यामेरा एउटा वेदर स्टेशनमा जहाजकै सहयोगका लागि राखिएको बताए ।

'एउटा वेदर स्टेशन र ती आइपी क्यामेराहरु हवाईजहाजको सहयोगका लागि नै राखिएको हो', उनको तर्क छ, 'मैले पोखरा विमानस्थलमा गएर ती क्यामेराहरुको आईपी एड्रेस र वेदर स्टेशनको लिंक पनि दिएकै हो । तर त्यसको उपयोग गरेको जस्तो लागेको छैन ।'

उनले आफूले ती सुविधा प्राधिकरणलाई सित्तैमा उपलब्ध गराउँदा पनि बेवास्ता गरिँदा यो विपत्त आएको बताएका छन् । उनले दिएको जानकारी अनुसार पोखरा जोमसोम हवाई रुटमा राखिएका ती आइपी क्यामेरबाट जोसुकैले त्यहाँको मौसम घरमै बसीबसी थाहा पाउन सक्छन् ।

यसरी हेरौं मौसमको अवस्था पुनले दिएको जानकारी अनुसार इन्टरेनटमा फायर फक्स ब्राउजरबाट सजिलै पोखरा-जोमसोम हवाई रुटको मौसमबारे जानकारी लिन सकिन्छ ।

त्यसका लागि एउटा क्यामेराको IP Address 202.166.211.43 छ । जसको user: admin, password : qwert12345 हो ।

वेदर स्टेशनको लिंक यहाँ यसरी दिइएको छ: ।

यसबारेमा थप जानकारीका लागि पुनले इमेलमार्फत सम्पर्क गर्न पनि आह्रह गरेका छन् । उनलाई mahabir@himanchal.org मा इमेल गरी जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.