सुनमाया अब कुवेत फर्किन्नन्

रीतु थेवे – कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन छिचोलेर जहाजतिर जाने वेटिङ रुममा भेटिनुभयो काभ्रेपलाञ्चोकको गोकुले–४ की ३० वर्षकी सुनमाया मोक्तान । कुवेतमा दुई वर्ष घरेलु काम गरेपछि उहाँ दुवई हुँदै नेपाल फर्कदै हुनुहुन्थ्यो । सुनमायाको विदेश यात्राको कथा धेरै लामो छैन । श्रीमान् छउन्जेल विदेश जानुपर्ने बाध्यता थिएन । पाँच वर्षअघि उहाँको श्रीमान् स्वर्गे भएपछि एक छोरा र तीन छोरीको लालनपानको खर्च बढ्न थालेकोले सुनमायालाई विदेश जानुपर्ने बाध्यता भयो ।



८५ वर्ष नाघेका बाआमाको हातमा सन्तान सुम्पिएर दुई वर्षअघि सुनमाया दलालको हात समाएर खाडी देश कुवेत पुग्नुभयो । कुवेतको बसाईं उहाँलाई खासै फापेन । फोहोर फाल्न सडकमा निस्किँदा पनि घर मालिकका छोराछोरी पछि लाग्थे ।

‘मेरो त यी यत्ति हो, अरबीले अरु केहि ल्याउन दिएन ।’ प्राइसट्याग पनि नझिकेको झोलामा नेपालबाटै लिएर आएका दुईचार जोर फेरफारे कपडा पोको पारेर उहाँ नेपाल फर्किदैं हुनुहुन्थ्यो । नेपालबाटै लगेको पुरानो मोवाइल । सिम थिएन । स्क्रिनमा देखिन्थ्यो नेपालमा छोडी आएको छोरीको फोटो ।

‘पाँच घण्टाअघि भनेको, मलाई त घर जान ठिक्क पर भन्यो । पैसा पनि दिएन ।’ तै घरपरिवार र आफ्ना छोराछोरीलाई भेट्न पाउने खुशीले सुनमायाका अनुहार सुनजस्तै चम्किन्थे । अनि, अरुका लगेजमा आँखा ठोक्किँदा सुनमायाको अनुहार निचोरिन्थे । ‘छोराछोरीलाई भनेर नेपाल लैजान ठिक्क पारेको सामान पनि ल्याउन पाइन मैले ।’

अब फेरी कुवेत फर्कने हो त ?
‘अहँ फर्कन्न ।’

कुवेतमा झण्डै ६० हजार जना जति नेपाली कार्यरत छन् । ती मध्ये आधा भन्दा धेरै महिला कामदार छन् । महिला कामदारमध्ये धेरैजसो घरेलु काम गर्छन । घरेलु कामलाई श्रम कानूनले समेट्दैन । उनीहरुले साँझ बिहान नभनी काम गर्नुपर्छ । तलब सुविधा तोकिएको हुँदैन ।

एक दुई दयालु घर मालिक बाहेक अरुले समयमै तलब दिँदैनन । चाहेको बेला घर बाहिर निस्किन मिल्दैन । कतिपय नेपाली घरेलु कामदार त मालिक र तीनका छोराहरुबाटै यौन शोषणमा परेको समाचार पनि आइरहन्छन । कति चाहिँ सुनमाया जस्तै खाली हात नेपाल फर्कन्छन ।
-साभार:उज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.